भारतीय नेताहरुले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका मधेशी दल र तिनका नेताहरुलाई बिश्वासमा लिइ सिमाङकन टुंग्याएर संविधान जारी गर्न उपयुक्त हुने सुझाव दिएको दाहालले बताए ।
आफूले भारतीय नेताहरुसँग नेपाल भारत सम्बन्ध र एमाओवादी र भारतको सम्बन्धका बारेमा खुलेर सिधा सिधा छलफल गरेको जानकारी गराउँदै दाहालले आफनो भ्रमण फलदायी भए नभएको परिणाम हेर्न पर्खनु पर्ने पनि बताए ।
शान्ति र संविधान निर्माण प्रक्रियालाई सकारात्मक निष्कर्षमा पुरयाउन भारतीय सहयोग र सदभाव खोज्न गत मंगलबार भारत भ्रमणमा गएका दाहाल सोमबार काठमाडौ फर्कदैछन ।
भारतीय प्रधानमन्त्री मोदीको गृहनगर गुजरातको भुजमा भुकम्पछिको पुननिर्माणको अवस्था अवलोकन गर्न पुगेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका दाहालसँग शनिवार राती अन्नपूर्णकर्मी रेवती सापकोटाले टेलिफोनमा गरेको कुराकानी :
समग्रमा तपाईको भारत भ्रमण कस्तो रहयो भनेर बुझने ?
मैले जस्तो सोचेर आएको थिए,भ्रमण त्यस्तै भयो । अव यसको परिणाम हेर्नुपर्छ । मैले नेपाल भारत सम्बन्ध र एमाओवादी र भारतको सम्बन्धका बारेमा राष्ट्रपति,प्रधानमन्त्री,मन्त्रीहरु,सत्ता पक्ष र विपक्षमा रहेका नेताहरु र भारतीय बुद्धिजीवीहरुसँग सिधा सिधा खुलेर छलफल गरेको छु । शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुरयाउने बिषयलाई मुख्य बनाएर सबैसँग छलफल गरेको छु ।
संविधान निर्माणमा भारतीय नेताहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?
उहाँहरु सबैको संविधान बनोस भन्ने चाहना देखिन्छ । सिमाङकन चाहि टुंग्याएर संविधान जारी गर्नु राम्रो हुन्छ भन्ने उहाँहरु सबै जसोको सुझाव थियो,जुन कुरा मैले काठमाडौमा काँग्रेस एमालेका नेताहरुसँग पनि छलफल गरेकै बिषय हो ।
असन्तुष्ट मधेशी दलहरुलाई पनि संविधान निर्माण प्रक्रियामा समेटेर लैजानु राम्रो हुन्छ भन्ने सबै जसो नेताहरुको सुझाव छ । मैले सबैका भावना समेटेर संविधान निर्माण प्रक्रिया अगाडि बढाइन्छ भनेको छु ।
भारतीय नेताहरु संविधान बनेको देख्न चाहदा रहेछन कि अझै रोकिएको देख्न चाहदा रहेछन ?
उहाँहरु सबैको चाहना संविधान बनोस भन्ने नै छ ।
भारत र चीन वीच भएको सम्झौतामा उल्लेख गरिएको लिपुलेकका बारेमा के कुराकानी भयो ?
लिपुलेको बारेमा मैले सबैसँग प्रष्ट कुरा राखे । विदेशमन्त्रीले ऐतिहासिक दस्तावेजहरु अध्ययन गरेर समस्याको समाधान गर्ने कुरा गर्नुभयो । प्रधानमन्त्रीले चाहि त्यसलाई सामान्यीकरण गरिदिनुभयो । सबै कुरा आपसी सल्लाहमा हुन्छ भन्नुभयो ।
त्रिदेशीय समझदारीबारेमा कस्तो छलफल भयो ?
त्रिदेशीय रणनीति समझदारी बनाएर आर्थिक विकास गर्नुपर्छ भनेर मैले पहिलेदेखि नै भन्दै आएको हो । त्यो बिषय अहिले भारत चीनको वीचमा पनि छलफल अगाडि बढेको छ । मैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तपाईको चीन भ्रमण र त्रिदेशीय समझदारीका बारेमा त्यहाँ भएको छलफल सकारात्मक छ भने ।
तर त्रिदेशीय समझदारीका बारेमा जसरी मैले प्रष्टयाउन खोजेको थिए,त्यो चाहि हुन पाएन । इष्टिच्युट फर डिफेन्स एण्ड स्टडी एनालिसिस (आइडिएसए)को कार्यक्रममा बिस्तृत रुपमा त्रिदेशीय समझदारीका बारेमा व्याख्या गर्न चाहेको थिए तर प्रधानमन्त्री मोदीसँगको भेटने र त्यो कार्यक्रम जुधेका कारण त्यो हुन पाएन । मेरो समय नमिल्दा आइडिएसएको कार्यक्रम नै रद्द हुन पुग्यो ।
व्यक्तिगत रुपमा तपाईलाई चाहि भारतीय नेताहरुले कसरी लिए ?
प्रधानमन्त्री मोदीदेखि सबै जसो नेताहरुले संविधान लेखन देखि सबै बिषयमा तपाईले नै नेतृत्व गर्नु परयो भन्नुभएको छ । तपाई नै केहि गर्न सक्ने नेता हो भन्ने उहाँहरुको भनाई थियो ।
भुकम्पपछिको पुननिर्माणका बारेमा कस्तो छलफल भयो ?
भुकम्पपछिको पुननिर्माणमा पूर्ण सहयोग हुन्छ भन्नु भएको छ ।
तपाई गुजरात पनि पुग्नुभयो,कस्तो पाउनुभयो ?
हो,म अहिले तपाईसँग कुरा गरिहदा गुजरातमै छु । भुकम्प अघि र पछिको गुजरातको अवस्थाका बारेमा पावरपइन्टबाट आज (शनिवार) जानकारी लियौ । भोली (आइतवार ) पुननिर्माणको अवलोकन गरेर दिल्ली जाने कार्यक्रम जाने कार्यक्रम छ ।
annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment