'धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबाट देश पछि फर्कन सक्दैन। यिनीहरूको विपक्षमा सुझाव दिनु नै उपयुक्त छैन'- डा.बाबुराम भट्टराई, सभापति,संवाद समिति 'एउटा विषयमा एकजनाले सुझाव दिनु र एक सयजनाले सुझाव दिनुको खासै अर्थ छैन,' भट्टराईले शुक्रबार सञ्चारकर्मीसँग भने, ‘धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबाट देश पछि फर्कन सक्दैन। यिनीहरूको विपक्षमा सुझाव दिनु नै उपयुक्त छैन।'
मस्यौदामाथिका जनताका सुझावलाई जनमत संग्रहका रूपमा लिन नहुने तर्क गर्दै भट्टराईले भने,‘संघीयता, गणतन्त्र र धर्म निरपेक्षता उल्टिन सक्दैनन्। त्यसैले यी विषयमा जनताका कति सुझाव आए भन्ने अर्थ छैन।' धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता पनि हुन नसक्ने भट्टराईले बताए।
'धर्म निरपेक्षता राख्नुको उद्देश्य नै राज्यको धर्म हुँदैन भन्ने हो। त्यसैले धर्म निरपेक्ष शब्द उल्टिन सक्दैन।' जनताबाट आएका सुझावलाई जनमत संकलन समितिले संविधानसभामा पेस गरेपछि ती विषय संवाद समितिमा पुग्नेछन्।
'आन्दोलनका उपलब्धिविरुद्ध आउने सुझावलाई नयाँ विषयका रूपमा संवादमा आउन सक्छन्। तर त्यसको अर्थ मैले देखेको छैन,' भट्टराईले भने। साउन ४ र ५ गते सभासद्हरूले जिल्लामा संकलन गरेका सुझाव साउन ७ गते नै संविधानसभामा पेस गर्ने तयारी भइरहेकाले सुझावहरूलाई ‘कागजी रूपमा' मात्र मिलाउने प्रयास भइरहेको छ।
संवाद समितिका सभापति डा. भट्टराईले सीमांकनसहितका विवादित विषयलाई टुंग्याएर संविधान जारी गर्नु उत्तम हुने बताए। 'संविधानमा अधिकतम शक्ति र समूहलाई समेट्नुपर्छ,' भट्टराईले भने, ‘जनमत संकलन भइरहेका बेला सहमति गरौं। तर सहमतिमा नाममा एक दिन त के एक घन्टा पनि लम्ब्याउनुहुन्न भन्ने पक्षमा म छु।'
अघिल्लो संविधानसभा र संवाद समितिले सहमति गरेका विषयलाई समेत मस्यौदा समितिले तोडमोड गरेको उल्लेख गर्दै भट्टराईले भने, ‘नागरिकता, मौलिक हक, समानुपातिक समावेशीलगायतका विषयमा विगतमा भएका सहमतिमा अडिनुपर्छ।
प्रक्रियागत त्रुटि सच्याउनुपर्छ।' पार्टी अध्यक्ष पुष्पकमल दाहाल संविधानकै वातावरण बनाउन भारत भ्रमणमा गएको हुनसक्ने भट्टराईले बताए। 'नेताहरू विधि र प्रक्रिया पूरा गरेरै विदेश जानुभएको होला। उहाँहरूको भ्रमण संविधानकै वातावरण बनाउन सहयोग गर्नलाई नै होला,' भट्टराईले भने।
annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment