Tuesday, August 4, 2015

चिनियाँसँग बिहे गरेका चेलीहरुको बिजोग

बेइजिङ , श्रावण १९ - गत शनिबार नेपालचीन कुटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सव धुमधामसँग मनाइँदै थियो ।
सरकारी स्तरमा यो खुसी छाइरहेको बेला एकजना नेपाली युवती भने चीनमा चरम घरायसी हिंसाका कारण घरबाट निकालिएकी छन् । गत फेब्रुअरी ३ तारिख २९ वर्षीय लिउ याङसँग बिहे गरेर चीनको हैलुङच्याङ प्रान्तमा पुगेकी धरानकी २२ वर्षीय रिना राई (नाम परिवर्तन) अगष्ट एक तारिख घरबाट निकालिएकी हुन् ।

    बेइजिङस्थित नेपाली दूताबासको उद्दारपछि नेपाल जाने तयारीमा रहेकी रिनाले शरीरभरिको निलडाम देखाउँदै भनिन् ‘सासू र लोग्ने भएर दैनिक रुपमा पिट्न थाले । स्थानीय प्रहरीलाई मैले खबर गरेँ तर उनीहरुले पनि वास्ता गरेनन् ।’ बिहे गरेर ल्याएको केही महिनासम्म उनलाई श्रीमान् लिउ र सासू ससुराले राम्रै व्यवहार गरेका थिए । उनीसँगै बिहे गरेर आएका अन्य पाँचजना नेपाली युवतीमध्ये चारजना गर्भवती भइसकेका छन् ।

एकजना युवतीको दुई हप्ता अगाडि नेपाली दूतावासले उद्दार गरेर नेपाल फर्काइसकेको छ । उनी गर्भवती नभएपछि लोग्ने र सासूबाट कुटपिट हुन थालेको उनले बताइन् । ‘तँलाई बच्चा जन्मिएपछि छोडिदिन्छौँ भन्दै पिट्थे । ससुरा अलिक समझदार थिए । मलाई कुट्दा उनी छुट्याउन आउँथे’ उनले भनिन् ‘हैलुङर्याङ अत्यन्त चिसो ठाउँ भएकाले म सधैँ बिरामी भइरहेँ । अरु साथीहरु गर्भवती हुँदा म गर्भवती हुन सकिँन । त्यही भएर ममाथि हिंसा भएको जस्तो लाग्छ । उनीहरुले मलाई बिहे गर्नका लागि ८० हजार युआन दलाललाई दिएका रहेछन् ।’ उनको पाखुरा, छाती, ढाड र तिघ्रामा निलडाम छ ।

    बारम्बारको हिंसा सहन नसकेर उनी एक हप्ता पहिले घरबाट भागेकी थिइन् । तर केही घन्टामै घर परिवारका मान्छे गाडी लिएर आएर र उनलाई बजारबाट पक्रिएर घरमा लगेर थुने । उनको पासपोर्ट पनि लुकाइदिए। पासपोर्ट लुकाएर राखेकाले भागेर जान सक्दिन भन्ने लागेकाले उनीहरु जहाँ जान्छेस् जा भनेर बारम्बार धम्क्याउँथे ।

     उनले मोबाइलको विच्याटबाट बिहे गराउने पापा भन्ने मान्छेलाई गुनासो गरिन् । पापा पनि सोही प्रान्तको भएकाले एकपटक घरमा गएर परिवारका मान्छेलाई सम्झाएको थियो । तर पछि जति गुनासो गरे पनि ऊ पनि आएन । उनले त्यहीँबाट काठमाडौँस्थित केन्द्रीय अनुसन्धान विभागमा उद्दारको अनुरोध गरिन् । तर प्रहरीले पनि आफूहरुले केही गर्न नसक्ने बताएपछि उनले नेपाली दूताबास बेइजिङको ठेगाना खोजिन् । अर्की एक नेपाली युवतीमार्फत नेपाली दूताबासको विच्याट सम्पर्क पाएपछि उनी दूताबासको सम्पर्कमा पुगेकी हुन् ।

    दूताबासले उद्दारको तयारी गर्दागर्दै उनी अगष्ट एक तारिख शनिबार हैलुङच्याङ प्रान्तको पूर्वउत्तर रुससँग सिमा जोडिएको थोङच्याङस्थित घरबाट भागिन् । उनी दिनभर मकैबारीमा लुकेर बसिन् र रातपरेपछि सडकमा निस्किएर दस किलोमिटरभन्दा बढी हिँडिन् । एउटा घर भेटेपछि उनले बास मागिन् । त्यही घरको मोबाइल मागेर नेपाली दूतबासका तृतीय सचिव उत्तम घिमिरेसँग विच्याटमा सम्पर्क गरिन् । त्यही घरमा रात बिताएकी उनलाई बिहान तीन बजे नै त्यहाँबाट पनि जान भनियो । उनी नजिकैको अर्को घरमा गइन् र शरण मागिन् । त्यहाँबाट फेरि घिमिरेसँग सम्पर्क गरिन् र आइतबार दिनभर र राति त्यही घरमा बसिन् ।

    सोमबार बिहानै त्यो घरको मान्छेले उनलाई च्यामुसीको बसमा ५० चिनियाँ युआनको टिकट काटेर चढाइ दियो र थप एक सय युआन बाटो खर्च पनि दियो । पछि दूताबासले ती सहयोगीको मोबाइल मार्फत सो रकम फिर्ता गरिसकेको घिमिरेले बताए । सोमबार बिहानै नेपाली दूताबासबाट रिनाको उद्दार गर्न हैलुङच्याङ प्रान्तको च्यामुसी पुगेका घिमिरेले च्यामुसी सार्वजनिक सुरक्षा कार्यालयमा लगेर ट्राभल्स डकुमेन्टमा भिसा हानेर बेइजिङ ल्याए । उनलाई मंगलबार राति मलेसियन एयरलाइन्सबाट काठमाडौँ लगिँदै गरेको घिमिरेले बताए ।

     व्यवस्थापन विषयमा उच्च माध्यमिक तह उत्तीर्ण गरेकी रिना सानै हुँदा उनका बुबा आमाको मृत्यु भएको हो । आफ्नी सानी आमा (छेमा)ले पालनपोषण र शिक्षा दीक्षा दिएको बताउने रिनाले स्वाभलम्बी बन्नका लागि चिनियाँ केटासँग बिहे गरेको खुलाइन् । नेपाली एजेन्ट र चिनियाँ एजेन्टले उनलाई चीनबाट हङकङ सजिलै जान सकिन्छ र महिनाको लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ भनेर फकाएका थिए ।

    चीनमा नेपाली युवतीहरुमाथि चरम हिंसा हुने गरेको घटना बारम्बार आउने गरेकाले दलाल मार्फत बिहे गरेर नेपालबाट ल्याउने कुरालाई नै निरुत्साहित गर्नुपर्ने नेपाली दूताबास बेइजिङका मिनिस्टर निर्मल काफ्ले बताउँछन् । अन्य विभिन्न स्थानबाट पनि नेपाली युवतीहरुले हिंसा भोगिरहेको गुनासो आएको र स्थानीय प्रहरीको सहयोगमा केही व्यवस्थापन गरिए पनि दीर्घकालीन रुपमा समाधान गर्न गार्‍हो भएको बताउने काफ्लेले मानव तस्करीको रुपमा नेपाली युवतीलाई कथित बिहे गरी चीनमा ल्याउनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताए ।www.ekantipur.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment