Monday, February 29, 2016

महतोले पुनः आन्दोलन हुने चेतावनी दिएपछि मधेसी बुद्धिजिवीले दिएको यस्तो जवाफ

काठमाडौं–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब प्रधानमन्त्रीलाई जानकारी गराएर नै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको सन्दर्भमा उनले ज्ञापनपत्र बुझाउँदैमा आन्दोलन समाप्त भयो भने होइन, अग्रिम जानकारी गराएर नै आन्दोलनमा जाने ज्ञापनपत्र बुझाउन लगाएको उनले बताए । उनले भने, ‘अन्तिम लडाईं लड्ने कुराको जानकारी दिन ज्ञापनपत्र दिन लागेका छौं ।’


आइतबार आफ्नै पार्टीद्धारा आयोजना गरेको बुद्धिजिवीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वार्ताको नाममा पनि आन्दोलन कमजोर भएको उल्लेख गर्दै आफूहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेको अवधिमा वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरेका छौं । तर, हाम्रो यो आग्रहलाई वेवास्ता गरे विगतको भन्दा कडा आन्दोलन हुने चेतावनी दिए ।

ज्ञापनपत्र बुझाएर आन्दोलनमा गएपछि कुनै वार्ता नहुने बताउँदै उनले अबको आन्दोलन वार–पारको हुने चेतावनी दिए । आन्दोलन रोकियो बन्द भयो, असफल भयो, लगायतका विभिन्न कुराहरु अहिले उठिरेहका छन् तर त्यस्तो केही पनि छैन अहिले पनि मधेशी जनता आन्दोलनका लागि तयार छन्, लडेर नै अधिकार लिन सकिन्छ भन्नि कुरा बुझेर बसेका छन् त्यसैले अबको आन्दोलन अधिकार लिएर मात्र विश्राम लिने उनको चेतावनी थियो ।

उनले पनि ६ महिनाको लामो आन्दोलनको क्रममा केही त्रुटीहरु भएको स्वीकार गर्दै आउने दिनमा त्यसलाई सुधारेर जाने बुद्धिजिवीहरु समक्ष प्रतिवद्धता पनि जनाए ।

कस्तो थियो बुद्धिजिवीहरुको टिप्पणी ?

राजनीतिक विश्लेषक सिके लाल
राजनीतिक विश्लेषक सिके लालले दिल्ली र काठमाडौंको लडाईमा मधेस हतियार बनेको टिप्पणी गरे । उनले मधेशवादी दलले आवश्यकताभन्दा बढी भारतमाथि भर परेको कारण मधेस आन्दोलन कमजोर भएको उल्लेख गर्दै आफ्नै बलमा आन्दोलन गर्न मधेसी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सुझाव दिए ।
आन्दोलनका लागि मधेशवादी दलले मोर्चा गठन गरेपनि त्यसमा राम्रोसँग समन्वयन नभएको कारणले आन्दोलन दिशाहिन भएको टिप्पणी गरे । मधेसमा अरु साना दलहरु पनि छन् तर त्यसलाई मोर्चामा सहभागि नगराएको कारणले पनि आन्दोलनमा असर गरेको उल्लेख गर्दै उनले अगामी दिनमा त्यस कुरामा ख्याल गर्न सुझाव दिए ।
मधेश आन्दोलनले तत्कालै केही उपलब्धी नभएपनि मधेसको मुद्दा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित भएको उल्लेख गर्दै उनले कुनै पनि आन्दोलनलाई सुरुमै कडा बनाएर जान नहुने सुझाव दिए । सुरुमा सांकेतिक आन्दोलन गर्ने, त्यसपछि केही नभएपनि एक/दुई दिनका लागि आमहड्ताल गने, त्यसपछि पनि केही भएन भने मात्र सरकारलाई जानकारी गराएर अनिश्चितकालका लागि आमहड्ताल गर्नुपर्ने सुझाव दिए ।

पूर्व आयुक्त डा.विरेन्द्र मिश्र
पूर्व आयुक्त डा.विरेन्द्र मिश्रले मधेश आन्दोलन चौबाटोमा उभिएको टिप्पणी गर्दै यसलाई यस अवस्थामा पुर्याउने काम एमाओवादीबाट भएको आरोप लगाए । वैशाखअघि नै एमाओवादीका अध्यक्ष प्रचण्डलाई तपाई मधेश आन्दोलनमा टिक्नुहुन्न छाडेर जानुहुन्छ, आफूले भनेको आखिर त्यही भयो भन्दै डा. मिश्रले अधिकारका लागि आन्दोलन भएकाले त्यति छिट्टो समाधान नहुने बताए ।
उनले भने, ‘मधेशसँग जुन मुद्दा छ, त्यो कुनै समुदायसँग छैन् । त्यसैले कसैले चाहँदैमा तत्काल आन्दोलन सफल हुँदैन ।’ मधेश आन्दोलन अझै परिपक्क नभएका कारणले अहिले नै मधेस आन्दोलन समाप्त भयो अब कहिले हुँदैन भन्ने होइन, मुद्दा रहेसम्म आन्दोलन हुने सम्भावना बाँकी रहिरहने उनले टिप्पणी गरे । अहिलेको मधेश आन्दोलनबाट जति प्राप्त भएको छ त्यो कम होइन, उनले भने, ‘सम्पूर्ण प्राप्तिका लागि अझैं धेरै संघर्ष गर्नुपर्छ ।’

अधिकारकर्मी तथा युवा पत्रकार जय निसान्त
अधिकारकर्मी तथा युवा पत्रकार जय निसान्तले विना तयारी मधेश आन्दोलन भएको कारण मधेश आन्दोलनको अवस्था यस्तो भएको टिप्पणी गरे । ६ महिनासम्म भएको आन्दोलन कुनै योजनामा भएको होइन, मधेशी जनताको प्रत्यक्ष सरोकार भएका कारणले आन्दोलन अगाडि बढ्यो । तर, योजना र रणनीति नभएको कारण आन्दोलनले उद्देश्य हाँसिल गर्न नसकेको उनले बताए ।
आन्दोनल दवाउन सरकारले दिनरात रणनीति बनाउनमा व्यस्त थिए । तर, मधेशवादी दल अलमलमा रहेको टिप्पणी गर्दै उनले आउने दिनमा मधेशवादी दलले योजना र रणनीति बनाएर अघि बढे मात्र सफल हुने बताए ।
आन्दोलनमा कसैसँग कुनै समन्वय थिएन, आन्दोलन हिंस्रक हुँदै गइरहेको थियो । तर, नेताहरुलाई त्यस विषयमा कुनै खबर थिएन । उनले भने, ‘मधेशी मोर्चाले गर्न चाहेका भन्दा ठिक उल्टो हुन्थ्यो ।’

वरिष्ठ अधिवक्ता मिथलेशकुमार सिह

वरिष्ठ अधिवक्ता मिथलेशकुमार सिहले नयाँ सविधानमा मधेशको अधिकार के उल्लेख छ, के उल्लेख छैन्, त्यो कुरा प्रष्ट रुपमा आउनुपर्ने सुझाव दिए । उनले संविधानको बारेमा नेपालमा रहेका दुतावासहरुलाई लिखित जानकारी गराउन पनि सुझाव दिए । मधेशमा आन्दोलन भइरहेको छ, तर मधेशीले के अधिकार पाएन, वा के पायो त्यसको बारेमा अन्तर्राष्ट्रिय जगतलाई कुनै जानकारी नरहेको धारणा राख्दै त्यसको बारेमा नेपालमा रहेको दूतावासहरुलाई जानकारी गराउन उनले सुझाव दिए ।

पत्रकार इजहार मिकारानी

कार्यक्रममा पत्रकार इजहार मिकारानीले मधेशवादी दल आफैँमा समावेशी रहेको टिप्पणी गरे । मधेशवादी दलमा बन्ने समिति, सचिवालयहरु समावेशी रहेको उल्लेख गर्दैै उनले संविधानमा मुस्लिमको छुट्टै कलस्टर छुट्याएकोमा मधेशवादी दलले त्यसको विरोध गर्नुको कुनै तुक नरहेको उल्लेख गरे । मधेशमा रहेका दलितका लागि कलस्टर छुट्याउन मिल्ने, तर मुस्लिमका लागि किन नमिल्ने भनि प्रश्न गरे ।

पत्रकार सुरेशकुमार यादव

अर्का पत्रकार सुरेशकुमार यादवले मधेशवादी दलबाट नै मधेशी पत्रकारमाथि विभेद भएको कुरा राखे । उनले मधेशवादी दलले अन्य पहाडी पत्रकारलाई जति महत्व दिन्छन् त्यति महत्व मधेशी पत्रकारलाई नदिएको गुनासो गर्दै मधेशी पत्रकारसँग समन्वय नगरेसम्म मधेश आन्दोलन सफल नहुने टिप्पणी समेत गरेका थिए ।

कार्यक्रममा अधिवक्ता सुनिल रञ्जन, श्वेता दिप्ती, विरेन्द्र के.एम., अनिल कर्ण, विनित ठाकुरलगायतकाले मधेश आनदोलनको बारेमा आआफ्नो धारणा राखेका थिए ।

ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment