Tuesday, March 1, 2016

गणेशजीको टाउको हात्तीको? तर कसरी?

हिन्दु धर्मका ग्रन्थहरूमा अनेकौँ विचित्रका कुराहरू उल्लिखित छन्। तर ती सबै विचित्र कुराहरूको रोचक व्याख्या पनि गरिएको छ।

जस्तोसुके पुजाआजा लगाउँदा होस् या घरमै नित्यकर्म गर्दा होस्, सुरुमा गणेश भगवानको पुजा गरिन्छ अनि बल्ल अन्य पुजाविधि गरिन्छ। शक्ति र ज्ञानको प्रतिक मानिने गणेश भगवानको टाउको हात्तीको रहेको पनि सायद सबैलाई थाहा छ होला। तर कहिल्यै सोच्नुभएको छ, शिव र पार्वती दुवैको टाउको मनुष्यकै छ, तर उनीहरूकै छोरा ‘गणेश’को टाउको कसरी हात्तीको भयो? जन्मिँदै देखि हात्तीको टाउको थियो कि पछिबाट राखिएको हो?

यी यावत कुरालाई थरी थरी ग्रन्थमा थरी थरी तरिकाले वर्णन गरिएको छ।

‘श्रीस्वस्थानी’ मा यसरी पनि वर्णन गरिएको छः

नवग्रह देवका राजा मानिने ‘शनि देव’ले जुन वस्तुलाई हेर्यो त्यो वस्तुको विनाश हुने श्राप उनले पाएका थिए। त्यसैले गर्दा नै जो मनुष्यमा शनिको नजर पर्यो उसको जीवनमा केवल नराम्रो मात्रै हुने हिन्दु धर्ममा विश्वास गरिन्छ।

पार्वतीले आफ्नो बच्चाको नामांकरण गर्नेबेलामा सबै देवी-देवताहरूलाई निमन्त्रणा गरिन्। पार्वती देवीको निमन्त्रणा स्वीकारेर सबै देवी-देवताहरू त्यहाँ उपस्थित भए, तर केवल शनिदेव मात्रै त्यहाँ आएनन्। उनको यस्तो अपमान देखेर क्रोधित पार्वतीले शनिदेवलाई श्राप दिन तयार भइन्। पार्वतीको क्रोधदेखि भयभीत शनिदेव तुरुन्तै त्यहाँ उपस्थित भए तर आफ्नो दृश्टिले बालकलाई नराम्रो हुने डरले उनले आफ्नो आँखा थुनेर बसे।

पार्वतीले शनि देवलाई भनिन्- “हे शनिदेव, सबै देवी-देवताहरूले मेरो बालकको मुहार हेरे, सबैले आशिर्वाद दिए। तिमी चाहिँ किन आँखा थुनेर बसिरहेछौ?”



पार्वतीको प्रश्नमा चिन्तित हुँदै शनिदेवले भने- “हे जननी! मेरो कु-दृश्टिले आजसम्म कसैको भलो गरेको छैन। म हजुरको बालकलाई हेर्थेँ, तर माता त्यसपछिको परिणाम देखि मलाई डर लागिरहेछ।”

शनिदेवको यस्तो चिन्ता देखेर पार्वतीले ढुक्क हुँदै भनिन्- “तिम्रो श्रापको बारेमा मलाई राम्रोसँग थाहा छ, शनिदेव! तर मेरा बालक शक्तिशाली छन्, तिम्रो नजरले उसलाई केहि पनि असर गर्न सक्दैन। तिमी निश्चिन्त भएर उसलाई आशिर्वाद देऊ!”

पार्वतीको आग्रहलाई अस्वीकार गर्न नसकी शनिदेवले आँखा खोलेर त्यस बालकलाई हेर्छन्। दुर्भाग्यवश, उनले हेर्नेबित्तीकै त्यस बालकको धडबाट शिर छुट्टिएर बिलाउन गयो।

यस्तो दुर्गती देखेर शनिदेव आफ्नो शिर झुकाई त्यहिँ बसिरहे। पार्वतीले उनलाई गाली गर्न पनि सकिनन्। यो देखेर शिवजीले विष्णुलाई आदेश दिए- “हे विष्णु! तिमी उत्तर दिशातर्फ जाउ र जो भेट्छौ, उसको टाउको लिएर आउ।”

शवजीको आदेश मानी टाउको खोज्न विष्णु भगवान उत्तर दिशातर्फ लागे। धेरै यात्रा गरिसक्दा पनि उनले कसैलाई भेटेनन्। अनत्यमा एक हात्तीलाई देखेपछि त्यसैको टाउको लिएर जाने निर्णय गरे। शिवजीको अगाडि हात्तीको टाउको लिएर विष्णु प्रस्तुत भएपछि सबैजना जिल्ल परे। सबै कुराको बेलिबिस्तार लगाएपछि शिवजीले त्यस बालकको धडमा हात्तीको शिर लगेर जोडिदिए।

शिर उडिसकेको बालक हात्तीको टाउको लिएर बिउँझेपछि विष्णु भगवानले त्यस बालकको नाम ‘गणेश’ राखिदिए। सबै देवी-देवताहरूले गणेशलाई शक्ति र वरदान दिए। साथै मनुष्यलोकमा कुनै पनि पुजा-आजा गर्दा गणेशकै पुजा पहिला गरियोस् भनेर शिवजीले पनि वरदान दिए।

हिन्दु धर्ममा यस्ता थुप्रै विचित्रका कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। तर के कुरा बुझ्नु जरुरी छ भन्दा- धर्म, भगवान र शक्तिमा विश्वास नगर्नेहरूको लागि यो केवल अलौकिक कथा हुन जान्छ भने विश्वास गर्नेहरूको लागि यो जीवनमन्त्र हुन जान्छ।nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment