Thursday, March 3, 2016

जुवाखालमा प्रहरी र सेनाबीच कुटाकुट, कर्नेलले प्रहरी इन्सपेक्टर कुटे

तुलसीपुर, २० फागुन । अञ्चल प्रहरी कार्यालय राप्तीले जुवाको अखडामा छापा हानेर २२ जना जुवाडेलाई पक्राउ गरेपछी तुलसीपुरमा तरंग पैदा भएको छ ।
इलाका प्रहरी कार्यालयमा डीएसपी कृष्ण प्रसाई प्रमुख भएर आएपछी उनले एउटा जुवा अड्डामा छापा हानेर १९ जनालाई नियन्त्रणमा लिए । पक्राउ पर्नेमा तुलसीपुरमा ‘पैसाकै आडमा’प्रतिष्ठित कहलिएका व्यक्ति पनि थिए । आफूलाई ठुलै शक्ति केन्द्र ठान्ने तुलसीपुरको गिरोह जुवाडे छुटाउन इप्रका धायो । डिएसपीसंग गोप्य बैठकमा बसे । अनि डिएसपीले कारवाही प्रक्रिया अघी नबढाएरै जुवाडेलाई छोडे । त्यसपछी खुलेआम जूवा चल्ने तुलसीपुरमा इप्रकाले त्यसलाई नियन्त्रण गर्न खासै चासो देखाएको थिएन । त्यसैले पनि जूवा अड्डा निर्धक्कका साथ चलिइरहे । बजारमा दिनदहाडै जूवा चल्न थालेपछी धेरैले प्रहरीकै मिलेमतोमा जूवा चलिरहेको आशंका गरे । त्यहीं बिचमा वडा प्रहरी कार्यालय नेपागन्जबाट इनेस्नेक्टर हेम शाही उर्फ ‘सिंगम’ काजमा इप्रका तुलसीपुर आए । उनले प्रहरीकै संरक्षणमा चल्ने भनिएको जूवा अड्डामा छापा हाने ।
तर, बिडम्बना जूवाडेलाई पक्राऊ गर्न पुगेका इनेस्नेक्टर सिंगम जूवाकै खालमा निर्घात कुटिए । कुट्ने जूवाडे थिए, नेपाली सेनाको १९ नम्बर बाहिनीका कर्नेल मच्छेन्द्र थापा । कर्नेल थापाले इनेस्नेक्टरलाई आफैले मात्रै कुटेनन् । बाहिनी भित्रबाट सादा पोशाकमा सेना बोलाएर नराम्ररी भकुर्न लगाए । तर, कर्नेल थापाले उक्त आरोपको खण्डन गर्दै आएका छन् । थापाले त्यहीं घटना सेलाउन नपाउँदै केही पत्रकारलाई आफूले जानजान गल्ती नगरेको र रक्सी खाएको बेला उक्त घटना भएको भए आफूले नशाका कारण थाहा नपाएको प्रतिक्रिया दिएका थिए ।
जूवा अड्डा छापा हान्न गएका इन्सपेक्टर उल्टै कुटीएर युद्धमा हारेको सिपाही झैं लुरुलुरु फर्कीए । इन्सपेक्टर जूवाको खालमा कुटिदा डीएसपी प्रसाँई मौन बसे । आफू मातहतको इन्सपेक्टर कर्नेलबाट कुटिदा कुट्नेलाई कारवाही गर्नुको साटो डीएसपीले बिदामा बस्न उर्दी जारी गरे । चेन अफ कमान्डलाई शिरोपर गर्दै इन्सपेक्टर सिंगम बिदामा बसे । आफू कुटिदा पीडकलाई कारवाही नगर्ने डीएसपीसंग संगै नबस्ने अठोट लिएका उनी त्यहीं बेला सरुवा मिलाएर अन्यत्रै गए ।
जब सिंगम कर्नेलबाट कुटिएर सरुवा भए, तब तुलसीपुरमा जूवाडेको गुन्डाराज चल्यो । अनि सर्बसाधारणबीच प्रहरीकै मिलेमतोमा जूवा चलेको चर्चा चल्न थाल्यो । यहां सम्मकी इप्रकाका डिएसपी प्रसाँईकै मिलेमतोमा जूवा चलेको उजुरी प्रहरी हेडक्वाटर सम्म पुग्यो । त्यसपछी डीएसपी हेडक्वाटरकै निगरानी परे । त्यती मात्रै होइन अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी प्रेम चन्दले डीएसपी प्रसाँईलाई ‘तपाईको मिलेमतोमा जूवा अड्डा चलेको कुरा माथिसम्म पुगेको छ । योे गलत भयो । यसलाई नियन्त्रण गर्नुस् ।’ भन्दै सुझाए ।
तर, डिएसपीले एसएसपीलाई तुलसीपुरमा जूवा अड्डा नै नभएको जवाफ फर्काए । डिएसपीले तुलसीपुरमा जूवा अड्डा नभएको जवाफ दिएको एक हप्ता नबित्दै हिजो (फागुन १९ गते) अञ्चल प्रहरी कार्यालय राप्तीले तुलसीपुरको वेलकम रेष्टुरेन्टमा छापा हान्यो र २२ जना जूवाडेलाई दुई लाख ५८ हजार रुपैंया सहित नियन्त्रणमा लियो । डिएसपी प्रसाँईले जूवा अड्डा नै छैनन् भनेको ठाउँमा अन्चल प्रहरीले छापा मार्दा २२ जना जूवाडे पक्राऊ परेको घटनाले जूवा चलाउनमा प्रसाँइकै हात थियो भन्ने आरोप लगाउनेलाई थप बल पुगेको छ । तर, डीएसपी प्रसाँइले आफ्नो बचाऊ गर्दै आफूले जूवाडे मात्रै नभई कुनै पनि प्रकारका अपराधीको संरक्षण नगरेका दाबी गर्छन् ।
अञ्चल प्रहरी कार्यालय राप्तीका डिएसपी तुलबहादुर कार्कीको नेतृत्वमा गएको ५ जना प्रहरीको टोलीले जूवा अडमा छापा हानेको थियो । प्रहरी स्रोतका अनुसार जूवाडेले जूवा यति निर्धक्कका साथ खेलिरहेका थिए की मानौं, त्यहाँ जूवाडेले जूवा होइन, केटाकेटीले बाघचाल खेलिरहेका थिए । जूवा खेलिएको कोठाको ढोका समेत खुल्लै थियो भने, जूवाडेका जुत्ता चप्पल समेत बाहिरै यत्रतत्र छरीएका थिए । यसरी केटाकेटीले बाघचाल खेल्दा जस्तै निर्धक्क जूवा खेलेको घटनाले के पुष्टि गर्छ भने, जूवा संचालन आउनुमा प्रहरीको मिलेमतो अवश्य छ । नत्र जूवा लुकेर खेलाइन्थ्यो ।
अझ रोचक कुरा त के छ भने अन्चल प्रहरीले इप्रकाको भ्यान बोलाएर जूवाडेलाई भ्यानमा हाल्दा पहिले त्यहीं जूवा अड्डामा इन्सपेक्टरलाई कुटेका कर्नेल मच्छेन्द्र थापा ‘म बाहिनीको कर्नेल हुँ । एकपटकलाई छोड्नु पर्यो’ भन्दै प्रहरीसंग हारगुहहार गर्न पुगेका थिए । तर, प्रहरीले कसैले भनेर नछोड्ने जवाफ दिंदै नियन्त्रणमा लिएर बुधबार नै अदालत पुर्याई सात दिनका लागि म्याद थपेर कारवाही अघी बढाएको छ ।
कर्नेल थापाले भने आफ्नो कुनै जूवाडेसंग सम्बन्ध नभएको प्रतिक्रिया दिए । उनले आफूले जूवाडेलाई संरक्षण नगरेको दाबी गर्दै संरक्षण गरेको आरोप लगाउनेलाई नछोड्ने दाबी गरे । नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले कर्नेल माथि लागेका आरोप बारेमा तत्काल छानविन प्रक्रिया अघी बढाउने र दोषी पाइए कारवाही गरिने प्रतिक्रिया दिए ।
तुलसीपुरमा इप्रकाले जूवा अड्डा नै छैनन् भन्दा अन्चल प्रहरीले छापा मारेर जूवाडे पक्राउ गरेको घटनाले जूवा अड्डा संचालन हुनुमा इप्रका तुलसीपुरका डिएसपीको कुनै न कुनै प्रकारको संलग्नता छ भन्ने कुरा पुष्टी भएको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment