Thursday, April 27, 2017

सुन्दा नि अचम्म लाग्ने कुरा श्रीमती साटासाट – श्रीमती भगाउनेकै श्रीमती भगाइयो

हल्लो तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट। किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा ।

यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर-९ का दीपक नेपालीबीचको फोन वार्ता हो।

वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर (गोपाल) दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन्। श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए।


भोलिपल्ट बिहान बल्ल फोन लाग्यो। श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी-९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन।

केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बिगारिदिएको भनेर गुनासो गरे। दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए।

आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चुनौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी (जेठी) श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन सम्पर्क गरे दीपक नेपालीकी श्रीमती सुशीला नेपालीसँग पहिलो फोन सम्पर्कमा सामान्य झगडा भयो ।

एकले अर्कोलाई श्रीमान्-श्रीमती ठीक ठाउँमा राख्न नसकेका कारण आफू एक्लो भएको दुवैले गुनासो गरे । ‘कुरा हुदै जाँदा एकले अर्कोलाई स्वीकार्ने कुरा भएपछि सुशीलालाई काठमाडौं बोलाएँ र म कतारबाट नेपाल आएँ,’ जितबहादुर दर्नालले साप्ताहिकसँग भने, ‘काठमाडौंमा भेटेर पशुपतिनाथको मन्दिरमा सिन्दूरपोते गरेर हामी घर आयौं ।’

यसरी विदेशमा हुँदा श्रीमती पोइल गएपछि आफ्नै श्रीमती लाने दीपक नेपालीको उनकी श्रीमती लगेर देखाउन दिएको चुनौती जितबहादुर दर्नालले चार दिनमै पूरा गरे ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment