Sunday, February 28, 2016

कांग्रेस संस्थापनभित्रै जन्मियो अर्को समूह, को–को छन् नेता ?

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसको १३औँ महाविधेशन आउन चार दिनमात्रै बाँकी रहेका बेला संस्थापन समूहको दाबी गर्दै अर्को समूह जन्मिएको छ ।
संस्थापन समूहका लागि कार्यबाहक सभापति सुशील कोइराला, कृष्णप्रसाद सिटौलाले सभापतिमा आ–आफूलाई दाबी गरिरहेका बेला आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर कुलबहादुर गुरुङ (केबी), गोविन्दराज जोशी, विनयध्वज चन्दलगायतका नेताहरूको समूह अगाडि देखिएको हो ।
काठमाडौंको पुतलीसडकस्थित तिरुपती होटेलमा सम्पर्क कार्यालय बनाएको केबी समूहले आफूलाई संस्थापनको असली दाबेदारका रुपमा अघि सारेको छ । यस्तै भए यो समूहले सभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारीको तयारी गरेको छ । कोइराला परिवारबाट हरियो झण्डाको पर्खाइमा रहेको केबी समूहको मतले भावी सभापतिका उम्मेदवारलाई पनि प्रभावमा पार्न सक्ने केही नेताहरूको भनाइ छ ।
आफ्नो सम्पर्क कार्यालयमा आज बिहान पत्रकारसँग कुरागर्दै गुरुङले कांग्रेसलाई १३औँ महाधिवेशनबाट जोगाउनु पर्ने बेला आएको उल्लेख गर्नुभयो । ‘यो लडाइँ कांग्रेस प्रतिनिधिहरूको हो । कांग्रेसका समर्थकहरूको हो’, उहाँले भन्नुभयो, ‘कांग्रेसलाई भजाइ खाने भाँडो बनाउनेहरूविरुद्ध सोँच विचार गरेर मात्रै उम्मेदवारहरूलाई भोट दिनुपर्छ ।’
यो समूहबाट गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मणप्रसाद घिमिरे, लोकेश ढकाल, रामबहादुर गुरुङ, हस्तबहादुर मल्ल, शुक्रराज शर्मा, सुरेन्द्र हमाल, विष्णु राई, मथुरा घिमिरे, रुपा विक, सुधाकर पाण्डे, केशव दाहाल रहेका छन् ।
अर्का नेता गोविन्दराज जोशीले कांग्रेसमा राजनीतिक विचलन आएको आरोप लगाउनुभयो । उहाँले अहिलेका नेताहरूले कांग्रेसमा ठूलो विचलन ल्याएको दाबी गर्नुभयो । ‘कांग्रेसलाई वामपन्थीहरूको पिछलग्गु बनाइएको छ’, जोशीले भन्नुभयो, ‘बिपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विषय सबैले भुलेका छन् । यसलाई जोगाउने दायित्व अब तपाई हाम्रो काँधमा आएको छ ।’
अर्का नेता विनयध्वज चन्दले पार्टीभित्रका केही सीमित नेताहरूले कांग्रेसलाई भड्खालोमा हालेको आरोप लगाउनुभयो । ‘कांग्रेसलाई कांग्रेस रहन दिइएन’, उहाँले भन्नुभयो, ‘यस पटक कांग्रेसको सिद्धान्त जसले बोक्छ त्यसलाई मात्रै मतदान गर्न आग्रह गर्दछु ।’
१३औँ महाधिवेशनमा उम्मेदवारी दिन तयारीका साथ बसेका गुरुङ, जोशी र चन्दले पदाधिकारीसहित केन्द्रीय सदस्यका तोकेका छन् । यो समूहले आफूलाई बलियो रुपमा अगाडि उभ्याउने प्रयास गरेपछि संस्थापनका पौडेल र नेता शेरबहादुर देउवाले अर्को चुनौती ठानेका छन् । विशेष गरेर देउवाले यो समूहलाई आफूतर्फ आकर्षित गर्न खोजेको उनीहरूको भनाइ छ । यो समूहले कृष्णप्रसाद सिटौला समूहलाई खासै महत्व दिएको छैन ।
संस्थापन समूहले अहिलेसम्म औपचारिक रुपमा आफूहरूसँग वार्ता नगरेको जनाएका नेता जोशीले भने, ‘सभापतिका सबै उम्मेदवारसँग कुराकानी भएको छ । रामचन्द्र पौडेलजीले सरसल्लाह गर्नुभएको छैन । हामी संस्थापन पक्षका हौँ । तर जसले हामीलाई उचित स्थान दिन्छ उसैलाई समर्थन गर्ने छौँ ।’
आफूहरूसँग उल्लेख मतदाता समर्थक रहेको दाबी गर्नुभएका जोशीले भन्नुभयो, ‘केन्द्रीय कार्यसमिति र संसदीय बोर्डमा उचित स्थान दिने सभापतिका उम्मेवारलाई समर्थन रहन्छ ।’
केबी समूहका आकांक्षी नेताहरू को–को ?
यो समूहबाट गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मणप्रसाद घिमिरे, लोकेश ढकाल, रामबहादुर गुरुङ, हस्तबहादुर मल्ल, शुक्रराज शर्मा, सुरेन्द्र हमाल, विष्णु राई, मथुरा घिमिरे, रुपा विक, सुधाकर पाण्डे, केशव दाहाल रहेका छन् ।
त्यसैगरी, ललिता किङरिङ, विष्णु दाहाल, उमाकान्त चौधरी, रेवतीप्रसाद भुसाल, पार्वती डिसी चौधरी, रामबहादुर बस्नेत, दिलकुमारी राई, आङगेलु शेर्पा, भुमा पाण्डे, जनकराज गिरी, टेकप्रसाद गुरुङ, हर्षजित लामा र लक्ष्मण राय यादवले यो समूहबाट केन्द्रीय सदस्यका लागि अपेक्षा गरेको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment