Saturday, May 6, 2017

राजेश हमालको खुलासा,‘विराटनगरकी युवतीले पेटमा बच्चा चिनो चाहियो भनिन्’


काठमाडौँ । चर्चित अभिनेता राजेश हमालले ‘युगदेखि युगसम्म’देखि अहिलेसम्म दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । नेपाली चलचित्र उद्योगलाई व्यावसायिक बनाउन उनको महत्वपूर्ण योगदान छ । हमाल २७ वर्षदेखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा छन् । सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा काठमाडौंको ¥यापमा हिँडेर अभिनय क्षेत्रमा प्रवेश गरेका उनी केही वर्षअघिसम्म वर्षको औसत १०–१२ वटा चलचित्रमा अभिनय गर्थे । सन् १९९४ मा उनले १६ वटासम्म चलचित्रमा अभिनय गरे । एक सय ७० भन्दा बढी नेपाली र एक पाकिस्तानी चलचित्रमा अभिनय गरेका हमालले यस अवधिमा धेरै फ्यान कमाइसकेका छन् ।

ज्वाइँ बनाउन खोज्ने वृद्धवृद्धा

उमेर पुगेका वृद्धवृद्धाहरू मलाई आफ्नै छोरा–नातिका हिसाबले व्यवहार गर्नुहुन्छ । उहाँहरूले अझैसम्म पनि मप्रतिको माया देखाइरहनुभएको छ । म कतै गएका वेला हिँड्नै नसक्नेहरू पनि दुःख गरेर भेट्न आउनुहुन्छ । कलाकारको हिसाबले भन्दा पनि उहाँहरू आफ्नै घरको छोराको हिसाबले व्यवहार गर्नुहुन्छ । मैले बिहे गर्नुपूर्व कतिपयले यहाँ नजिकै राम्री केटी छ, बिहे गर्नुपर्छ भन्दै ज्वाइँ बनाउन खोज्ने गर्नुहुन्थ्यो । वास्तवमा भन्नुपर्दा यसरी व्यवहार गर्ने वृद्धवृद्धाहरू कति हुनुहुन्थ्यो म गिन्ती गर्न सक्दिनँ । तर, धेरै ठाउँमा पुग्दा उहाँहरूको आत्मीय व्यवहारले म सधैँ खुसी हुन्थेँ ।


पेटमा चिनो लिएर जान्छु भन्ने फ्यान

आजभन्दा लगभग २२ वर्षअघिको कुरा हो । ‘आफ्नो–बिरानो’ फिल्मको छायांकनका लागि झापा गएका थियौँ । नाइट सुट थियो । एउटा घरमा युनिटसँगै बस्यौँ । छायांकन राति ८–९ बजे सुरु भई बिहान ५ बजेसम्म हुन्थ्यो । एक दिन नाइट सुट सुरु भएपछि एकजना महिला साथी भेट्न आउनुभयो । तर, म फुर्सदमा नभएकाले मेरो युनिटका साथीहरूले व्यस्त हुनुहुन्छ भोलि आउनु भन्नुभयो । उहाँ विराटनगरदेखि आउनुभएको रहेछ, बिहानसम्म घरको बाहिर कुरेर बस्नुभएको रहेछ । यसरी रातभर बस्नुहुन्छ भन्ने थाहा भएको भए मैले अघिल्लो दिन नै भेट्ने थिएँ । यो कुरा थाहा पाएपछि मैले उहाँलाई भेटेँ । एकदमै सिरियस भएर बोल्नुभयो । भन्नुभयो, ‘तपाईंको सुरुमा हिरोइनसँग विवाह होला कि भन्ने सोच्थेँ । तर, करिश्माको बिहे भो, निरुताको पनि भो, अबचाहिँ मेरै लागि हजुर बन्नुभएको रहेछ भन्ने सोचेर हजुरलाई भेट्न यहाँ आएँ ।’ उहाँ झन्डै १७ वर्षकी हुनुहुन्थ्यो । उहाँले सीधै विवाहको प्रस्ताव राख्नुभयो । मैले उहाँलाई जतिसक्दो सम्झाएँ, फकाएँ । अन्तिममा मान्नुभयो, तर सर्त राखेर । उहाँले भन्नुभयो, ‘यदि मसँग बिहे नगर्ने हो भने मलाई एउटा चिनो चाहिन्छ, पेटमा राजेश हमालको बच्चा ।’ तर, मैले त्यो कुरा पनि मानिनँ । मैले जतिसक्दो फकाएर, बुझाएर फर्काएँ । उहाँ निकै नै पीडा बोकेर फर्किनुभयो ।

भेट्न नपाएका फ्यानले फिल्म नै बनाए

मलाई भेट्नका लागि रातभरि घर र होटेलबाहिर बस्नेहरू धेरै हुनुहुन्छ । त्यसमा पनि विशेषगरी मलाई भेट्नका लागि म बस्ने घरको बाहिर बस्ने फ्यानहरू धेरै हुनुहुन्छ । मैले पनि भ्याएसम्म समय मिलाउँछु । तर, सबैलाई समय दिन फुर्सद पनि नहुने । एउटा यस्तै अचम्मको घटना भयो । एकजना फ्यान, जो मलाई भेट्न काठमाडौं आउनुभयो । उहाँले कम्तीमा ७ दिनसम्म निरन्तर मेरो घरबाहिर कुर्नुभएछ । तर, भेट्न पाउनुभएन । उहाँले घरबाट बुवाको पैसा चोरेर आउनुभएको रहेछ, काठमाडौंमा बस्दा पैसा सकिएछ । त्यसपछि फर्कन पैसा भएनछ । अनि केही दिन ज्यामी काम गरेर घर फर्किनुभएछ । उहाँले पछि मलाई नै लिएर मेरो नामबाट चलचित्र बनाउनुभयो । चलचित्रको नाम ‘मेरो राजेश दाइ’ हो । उहाँले यो सबै कुरा सुटिङका वेला भन्नुभयो । मलाई अचम्म लाग्यो ।

‘बर्थ डे’मा केक लिएर आउने फ्यान

म ‘बर्थ डे’का वेलामा घरमा भएको थाहा हुने साथीहरूले केक लिएर आउनुहुन्थ्यो । केक मात्र होइन, उहाँहरू विभिन्न प्रकारका गिफ्ट पनि लिएर आउनुहुन्थ्यो । तर, केक लिएर आउने फ्यान बढी हुनुहुन्थ्यो । त्यसमा केटाभन्दा केटी बढी हुन्थे । म, जे–जस्तो अवस्थामा भए पनि एकदमै व्यक्तिगत हिसाबले कसैसँग दोस्ती गर्दैनथेँ । कति केटीहरू व्यक्तिगत भावना लिएर पनि आउनुभयो । तर, म औपचारिकता मात्रै निभाउँथेँ । मैले व्यक्तिगत खालको वातावरण कहिल्यै बनाइनँ । कतिसम्म भने केक लिएर आउनेहरू दर्जनौँसम्म मैले नै भेटेँ । खासगरी मैले महिलाहरूसँग धेरै दोस्ती गरिनँ ।

म तपाईंकी हुन पाऊँ भन्ने केटीहरू

अलि पहिल्यैकै कुरा हो । पूर्व र पश्चिमका केही साथीहरू हुनुहुन्थ्यो । उहाँहरूले पोस्ट अफिसमार्फत चिठी पठाउनुहुन्थ्यो । त्यो पनि दैनिक रूपमा । त्यसमा मायाका कुरा, मनभित्रका रोदन, पीडा लेखेर पठाउनुहुन्थ्यो । समग्रमा त्यतिवेला मलाई ५० देखि ६० वटा चिठी दैनिक रूपमा आउँथे । मलाई कतिपय महत्वपूर्ण चिठीबाहेक अरू पढ्नसमेत फुर्सद हुँदैनथ्यो । चिठी पठाउनेहरूमा केटीहरूले भावनात्मक हिसाबले लेख्थे । त्यसमध्ये फोटो पठाएर म तपाईंकी हुन चाहन्छु भन्नेहरू पनि धेरै हुन्थे । नयाँपत्रिकाको गज्जबबाट

टाटु खोप्ने साथी

पूर्वी विराटनगर र बाहिरका केही साथीहरू हुनुहुन्छ । उहाँहरूले मेरो नामको टाटु खोप्नुभएको रहेछ । त्यसो त मैले मेरो नामको टाटु खोपेका फ्यानहरू अरू धेरै रहेको थाहा पाएको छु । तर, उहाँहरूले भने मलाई प्रत्यक्ष रूपमा देखाउनुभयो । यस्ता फ्यान धेरै भएकाले म नाम सम्झन सक्दिनँ ।

३ वर्षको उमेरमा प्रपोज हानेकी युवतीले बिहे नगर्दासम्म कुरिन्

एउटा बडो अचम्मको कुरा छ । ३ वर्षको उमेरमा काठमाडौंकै एकजना सानी बालिकाले प्रपोज गरिन् । उनलाई उनका बावु–आमाले गोपीकृष्ण फिल्ममा चलचित्र हेर्न लगेका रहेछन् । त्यतिवेला मलाई छुरी रोपेको दखेर रुनुभएछ । अर्को दिन बिहानै उहाँको बुवा–मामाले मेरो घर ल्याउनुभयो । राजेश हमाललाई केही भएको छैन भनेर देखाउनुभयो । उहाँले मलाई झम्टनुभयो । आजभन्दा २४ वर्षअघिको कुरा हो । उहाँको बुवाले ती बच्चीलाई ‘राजेश हमाललाई केही भएको छैन देख्यौ’ भन्नुभयो । अनि तिनले राजेश हमाललाई केही भएको छैन नभन्नुस्, अबबाट ज्वाइँ भन्नुस् भनिन् । हामी सबै अचम्ममा प¥यौँ । उहाँले मधुलाई विवाह नगर्दासम्म विवाह नगरी बस्नुभयो । मलाई आफूसँग विवाह गर्न निकै नै आग्रह गरिरहनुहुन्थ्यो । तर, मैले मानिनँ । मधुसँग बिहे भएपछि उहाँलाई चोट लाग्यो भन्ने महसुस मैले गरेको छु । ३ वर्षदेखि आजभन्दा ३ वर्षअघिसम्म पछि लाग्नुभयो । उहाँले भन्दै आउनुभएको थियो, राजेश हमाल बूढो होस्, या लौरो टेकेर हिँड्ने उमेरको होस्, उसैसँग बिहे गर्छु । तर मेरो बिहे भइहाल्यो । त्यसपछि हाम्रो सम्पर्क छैन ।

मजस्तै हुन खोज्ने डाक्टर

अझै पनि म जे कपडा लगाउँछु त्यस्तै कपडा लगाउन खोज्ने फ्यानहरू हुनुहुन्छ । मैले जे खान्छु, जसो गर्छु, जुन कपडा लगाउँछु, जसरी हिँड्छु सबै कुरा ख्याल गरेर त्यस्तै गर्न खोज्नुहुन्छ उहाँहरू । मैले सुरुमा खेलेको चलचित्र ‘युगदेखि युगसम्म’मा हाफ पाइन्ट लगाएको थिएँ । जुन ड्रेसम्यानले काटेर बनाएका थिए । एकजना फ्यान त्यो कपडा खोज्न धेरै ठाउँ धाउनुभएछ । नपाएपछि फोटो लिएर गाउँको दमाईं दाइलाई भनेर पाइन्ट काटेर लगाउन भन्नुभएछ । त्यो कुरा मैले पछि मात्र थाहा पाएँ । एकजना डाक्टर साथी पनि हुनुहुन्छ यस समूहमा । डाक्टरी पेसा भए पनि उहाँ सधैँ मजस्तै बन्न खोज्ने गर्नुभयो । उहाँमा अझैसम्म पनि राजेश हमालको भूत उत्रिएको छैन । गज्जबबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment